
चितवन- नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन् । आज बेँसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।
संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले छन् ।
घाइतेमध्ये नेविसङ्घका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाइतेको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेस लमजुङका पूर्व सभापतिसमेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरूबिचको द्वन्द्वले घटना निम्तिएको जनाइएको छ । गुरुङ पक्षधरले तरुण दलमा मनलाग्दी तरिकाले पूर्णकालीन सदस्यलाई हटाउने, प्रतिनिधि छनाेट गर्ने गरेको विषयमा विरोध जनाउँदा खुकुरी प्रहार भएको घाइते किशोरजङ्ग बस्नेतले बताए ।