
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मिश्रलाई हिरासतमुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय तीलकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रलाई हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।
बन्दी प्रत्यक्षीकरणक रिटमा वैशाख ३१ गते सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइए पनि उक्त रिटमा सुनुवाइको पालो आएको थिएन ।
राप्रपा र राजावादी संघसंस्थाको आह्वानमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापना लगायतका एजेन्डासहित प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान समेत गएको थियो । सोही घटनामा प्रहरीले मिश्रसहित राप्रपाका महामन्त्री एवं सांसद धवलशम्शेर राणा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो ।
उनीहरूमाथि प्रहरीले राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरी र सरकारी वकिलले मिश्रसँग बयान लिइसकेको छ । बयान लिएर पनि हाजिर जमानीमा नराखेको भन्दै मिश्रकी श्रीमतीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । धवलशम्शेर राणा भने स्वास्थ्य उपचारका लागि हाजिर जमानीमा छुटेका थिए ।