Mero Chitwan
पथलैया-नारायणगढ सडक चार लेनको बनाइने, ईआईए प्रतिवेदन निर्माण हुँदै

चितवन-पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि नारायणगढसम्मको एक सय किलोमिटर सडक चार लेनमा विस्तार गरिने भएको छ । यस योजनाअन्तर्गत अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार हुने क्रममा छ । 

२०२२ सालमा निर्माण भएको यो सडकलाई एसियाली मापदण्डअनुसार स्तरोन्नति गर्न करिब ६० अर्ब रूपैयाँ लाग्ने अनुमान छ । वीरगञ्जदेखि पथलैयासम्मको यो त्रिभुवन राजपथ ६ लेनमा विस्तार भइसकेको छ । 

तर, पथलैयादेखि नारायणगढ जाने महेन्द्र राजमार्गको करिब एक सय किलोमिटर खण्ड उस्तै छ । नेपालकै प्रमुख औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जबाट राजधानी काठमाडौंलगायतका शहरसम्म पुग्ने मालवाहक सवारीसाधनको यो सडकमा अत्यधिक चाप हुन्छ । 

अब भने यो सडकलाई चार लेनमा विस्तार गर्न एसियाली विकास बैंक एडीबीसँगको सहकार्यमा सरकारले डिजाइन र डीपीआरका लागि वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन बनाइरहेको छ । 

यो सडकखण्ड मधेश र बाग्मती प्रदेशका बारा, मकवानपुर र चितवनका ७ वटा स्थानीय तह हुँदै पार हुन्छ । ईआईए प्रतिवेदन स्वीकृत भएपछि विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार हुने यो सडक एसियाली मापदण्डअनुसार बन्ने र आयोजनामा करिब ६० अर्ब रूपैयाँ खर्च हुने अनुमान छ ।

पथलैयाबाट राष्ट्रिय वनक्षेत्रसँगै पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई छिचोलेर नारायणगढ पुग्ने यो सडकखण्ड वन्यजन्तुको बाक्लो उपस्थिति भएको जैविक मार्ग पनि हो ।  यो सडकखण्डमा पर्ने वनलाई चार भागमा विभाजन गरिएको छ । जसमध्ये पर्सा राष्ट्रिय निकुञ्जको आधाभार, चुरिया, रजैया र बरण्डाभार अर्थात् टिकौलीको वन गरी चार वटा क्षेत्रलाई वन्यजन्तुको आवागमनको दृष्टिकोणले संवेदनशील भनेर पहिचान गरिएको छ । 

तीमध्ये आधाभार र टिकौलीमा दुई-दुई किलोमिटरको बायोडक निर्माण गरिने र वन्यजन्तु सडकमा आउन नदिन ठाउँ-ठाउँमा दुई मिटरको आरसीसी वाल निर्माण गरी त्यसको माथि ग्याबिन तारले बारबेरा लगाउने योजना छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update