Mero Chitwan
चितवन निकुञ्ज :  गैंडा, बाघ, भालु  सजिलै हेर्न पाउँदा पर्यटक फुरुङ्ग

चितवन — गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिंगे गैंडा देखिन् । उनले एउटै घाँसे मैदानमा आठ वटा गैंडा मात्र देखिनन्, ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाइन् ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् ।

खैरहनी नगरपालिकाका–१९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकैसाथ ठूलो सङ्ख्यामा गैंडा र बाघ हेर्ने अवसर पाएको उप्रेतीले बताइन् । 'हामीले कसराबाट टाइगर टप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैंडा देख्यौं । फर्कंदा बाघ र भालु पनि देख्यौं,' उनले भनिन् ।

निकुञ्जभित्र पर्यटक बोक्ने जिप चलाउँदै आएका सोम तामाङ एक महिनायता दैनिक एउटा न एउटा जिपमा गएका पर्यटकले बाघ हेर्ने अवसर पाएको बताउँछन् । उनले भने, 'टाइगर टप्स पुगेर फर्कंदा ३० भन्दा बढी गैंडा देख्न सकिन्छ ।'

सौराहाबाट मात्र निकुञ्जभित्र ३२ वटा जिप चल्छन् । यससँगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरुका जिप निकुञ्ज छिर्ने गर्छन् । दिउँसो १२ देखि १ बजेको समयमा गर्मीका कारण गैँडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका विभिन्न ठाउँमा सजिलै गैँडा देख्न सकिने तामाङले बताए ।

सामुदायिक वनमा समेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्ती व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताउँछन् । मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैँडा देख्ने गरेको उनको भनाइ छ । 'अरूबेला बाघ हेर्न महिनौं कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन्,' उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहा हेर्दै आएका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर गर्मीको समयमा गैँडा पानीका पोखरी र सिमसार क्षेत्रमा आउने हुँदा सजिलै देख्न सकिने बताउँछन् । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघलगायत वन्यजन्तुसमेत सहजै देखिने गरेको उनको भनाइ छ ।

अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एकसिंगे गैँडा हेर्न नपाएर पर्यटक फर्कनुपर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाएपछि निकुञ्ज र सामुदायिक वनमा जिप र हात्ती सफारी एवं डुंगा सयर गर्नेहरू बढेको व्यवसायीहरू बताउँछन् । यो निकुञ्ज नेपालमा पर्यटकका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न तेस्रो मुलुक, सार्क र नेपाली पर्यटकहरू आउने गर्छन् । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update