
काठमाडौँ - पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ ।
नेपाल केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनमा पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए भने २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
पछिल्लो समय उनी पार्टी राजनीतिबाट टाढा थिए । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । उनका 'एक्काइसौँ शताब्दीकी सुम्निमा', 'बाघमारेको लालसलाम', 'देशको खोजी', 'पाइला छाडेर अस्ताएको घाम', 'आमाको मन', 'सञ्जय थापाका कथाहरू', 'जननी जन्मभूमिश्च', 'फेवाको सुस्केरा', 'देउमाईको किनारमा' लगायतका कृति प्रकाशित छन् ।