Mero Chitwan
स्वास्थ्य मन्त्रालयसँग  ४ बुँदे सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं- निर्वाह भत्ता लगायतका माग राख्दै आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनले जनाएको छ । 

स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।

सहमतिका ४ बुँदा

१) चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।

२) आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।

३) चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ् तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।

४) नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update