काठमाडौं । सर्वोच्च अदालतका एक अधिकृतले जारी गरेको अनधिकृत पत्रले झण्डै पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई साँझ साढे ५ बजे रिहा गरिएको छ ।
दिउँसो १ बजेतिर काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नाउपा र जनमत पार्टी एकीकरणको कार्यक्रममा सामेल हुँदै गर्दा सादा पोशाकका प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरेको थियो। तर चौधरीलाई सर्वोच्च अदालतको दोश्रो पत्रका आधारमा डिल्लीबजार कारागारबाट साँझ साढे ५ बजे रिहा गरिएको हो । चौधरीलाई बुवा लालबीर र पत्नी रञ्जिता श्रेष्ठको जिम्मा लगाइएको कारागार प्रशासनले जनाएको छ । चौधरीलाई लिन जनमत पार्टीका अध्यक्ष सिके राउत तथा नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।
जनमत र नागरिक उन्मुक्ति पार्टीले भने चौधरीको पक्राउ र रिहाइ सामान्य त्रुटि मात्रै नभएको र उच्च तहबाटै षड्यन्त्र भएको बताएका छन् । पार्टी एकता रोक्न र पहिचान पक्षधरलाई असफल बनाउन चौधरीलाई पक्राउको षड्यन्त्र गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले आरोप लगाए।
यसैबीच सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ ।
पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका थिए । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको हो ।


