Mero Chitwan
सरकार-शिक्षक ९ बुँदे सहमति, असार १५ भित्र शिक्षा विधेयक पारित गरिने,  शिक्षक आन्दोलन स्थगित

काठमाडौँ - २९ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच नौ बुँदे सहमति भएको छ । यो सहमतिलाई मन्त्रिपरिषद्‌को बैठकले अनुमोदनसमेत गरेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।

सहमतिसँगै नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् । 

त्यस्तै सत्तारुढ कांग्रेस एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट केही मागहरु सम्बोधन भएको र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासमेत प्राप्त भएकाले हड्ताल र प्रदर्शन स्थगित गरिएको महासंघले जनाएको छ ।

महासंघले शिक्षकहरुलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ । तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update