
चितवन : चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको छ ।
राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको हो ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको जनाइएको छ । यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा सङ्कलन गरिएको हो । गत वर्ष २४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो ।निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरेको छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।
यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।