
काठमाडौँ — काठमाडौँको नयाँ बानेश्वरमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
चैत २० देखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।
माओवादीको विरोध
यसैबीच माओवादीले शिक्षकमाथि भएको हस्तक्षेपको विरोध गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गरी समस्या सुल्झाउनभन्दा बल्झाउने काम गरेको आरोप लगाएका छन्।
'विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण ढंगले आन्दोलनरत शिक्षकहरु र समाचार संकलन गरिरहेका संचारकर्मीमाथि भएको नृशंस दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २५ दिनदेखि सडकमा ओर्लिएका देशभरका शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय छ,' उनले भनेका छन् ।
'शिक्षकहरुमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन, समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेकशुन्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लंघन हो ।'
उनले घटनाबाट सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपैठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्यत देखिँदै छ भनी गरिएको आशंका पुष्टि भएको आरोप लगाएका छन् । 'बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गरोस् । अझै पनि शिक्षकलाई तर्साउने, गलाउने र थकाउने काममा सरकार लाग्नु भनेको परिस्थितिलाई थप भड्काउनु हो,' माओवारीको भनाइ छ,