
काठमाडौँ : सवारी दुर्घटनाको कारण पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ सदस्यीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दाङमा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी शनिबार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताएका छन् ।
कार्यदलमा पूर्वसचिव धनबहादुर तामाङ अध्यक्ष रहेका छन् । कार्यदलमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडीई सुरेश श्रेष्ठ सदस्यसचिव रहने छन् ।
कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ । सडक दुर्घटना न्यूनिकरणका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए ।