Mero Chitwan
पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा महावीर पुन

तनहुँ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन केन्द्रका लागि रकम जुटाउन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा निस्किएका छन् । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप  पुनले अभियान सुरु गरेका हुन् । 

प्रतिपुस्तक सात सय ५० मा बिक्री गर्ने गरिएको पुनले बताए। जुन जुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए । 

'महावीर पुनको जीवन कथा' का लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका  पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसकेका छन्।  “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छाँ”, उनले भने, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।” 

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

पुनले काठमाडौँबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गरेका छन्।  कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको उनको आरोप  छ ।

देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हँुदै काठमाडौँ पुग्ने योजना रहेको पुनले बताए ।  करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update