
काठमाडौं : काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गाडीमा ६ जना सवार रहेकोमा एक जना घाइते बनेको र एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । ६ वर्षकी स्मारिका गौतमको टाउकोमा चोट लागेको हो भने उनकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल छिन् । घाइते स्मारिकालाई उपचारका लागि बल्खुस्थित वयोधा अस्पतालमा लगिएको छ ।
चित्लाङतर्फ जाँदै गरेको प्र.३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको हो । प्रहरीका अनुसार मृतकको शव र गाडी निकाल्ने कार्य जारिरहेको छ ।
मृतकहरूमध्ये काठमाडौंको मैतिदेवी घर भएका ६७ वर्षका ओमकार निधि तिवारी, सोही स्थानकै वर्ष ६४ की कल्पना तिवारी, लाजिम्पाट घर भई सोही ठाउँ बस्ने वर्ष ३८ का डा. महेश कुमार गौतम (कार चालक) र सोही ठाउँका वर्ष ४ का प्रियान्स गौतम रहेका छन् ।