
काठमाडौं । काठमाडौं–भारत उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको विषयलाई लिएर प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई निस्कासन गर्यो ।
घटनाको नेपालमा प्रधानमन्त्री तह, संसद्सहित चौतर्फी विरोध भएपछि उक्त विश्वविद्यालयले सबै विद्यार्थी विगतमा झै होस्टलमै रहन सक्ने र विद्यार्थीहरुको पढाईमा क्षति नपुग्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि नयाँदिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले निस्कासित विद्यार्थीलाई छात्राबासमै रहने प्रतिबद्धता जनाएको जानकारी दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ोलीले मेत घटनाप्रति चासो राख्दै कूटनीतिक तवरबाट सरकारले काम गरिरहेको जनाउनुभएको थियो ।
घटनालाई लिएर शिक्षा मन्त्रालयले घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत भारत सरकारसमक्ष आग्रह गरेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त विश्वविद्यालयमा १५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयले नेपाली विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले पनि घटनाका विषयमा सम्बन्धित विश्वविद्यालयसँग सम्पर्क भइरहेको र समस्या समाधानका लागि नेपाल सरकारका तर्फबाट पहल भइरहेको जनाएको छ ।
लम्साल हिजो साँझ छात्रावासमा मृत फेला परेपछि नेपाली विद्यार्थीहरू हिजैदेखि घटनाको निष्पक्ष छानबिन र दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि रजिस्ट्रार कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भन्यो र सबैलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्यो । तर, आज सबेरै वार्डेन सहितले सामान समेत प्याक गर्न नदिएर कुटपिट गर्दै निकालेको पीडित विद्यार्थीहरूले बताए । छात्रावासको बसले जबरजस्ती रेल्वे स्टेशनमा ल्याएर छाडेपछि आफूहरू अलपत्र परेको र भोकै पर्नुपरेको उनीहरूको भनाइ छ ।
आगामी चैत दोस्रो सातादेखि परीक्षा तालिका समेत सार्वजनिक भइसकेको अवस्थामा विश्वविद्यालय प्रशासनले सबै तहका नेपाली विद्यार्थीलाई तत्काल घर जान निर्देशन दिएको उनीहरूले बताए ।
घटनामा मृतक लम्साल मेकानिकल इन्जिनीयरिङका विद्यार्थी अड्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्ध टुटेपछि मानसिक तनाव दिएको उल्लेख गरिएको सुसाइड नोट र फोन समेत फेला परेको बताइएको छ । ती दुवै चिज प्रहरीले लुकाएको नेपाली विद्यार्थीको आरोप छ ।
लम्सालले आफूमाथि दुर्व्यवहार भएको भन्दै विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा पटक-पटक उजुरी गरे पनि कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको भनाइ छ ।