
काठमाडौं : बागमती नदीको बहाव बढाएर सौन्दर्य करण गर्ने लक्ष्यका साथ निर्माण गरिएको धाप ड्यामले पछिल्लो समय पर्यटकीय विकास आधार बनेको छ । उपत्यकाका नजिकैको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको ड्याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् । काठमाडौंको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको ड्याम अवलोकन गर्ने पर्यटकहरु बढ्दै जाने विश्वास लिइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भएको ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको हुँदा पर्यटकीय आकर्षण बढिरहेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका अनुसार धाप ड्याम बन्नुअघि वार्षिक करिब एक करोड राजस्व संकलन भएकोमा हाल चार करोड हाराहारीमा राजस्व संकलन भएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने धाप ड्यामका कारण आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको छ ।तर फोहोर व्यवस्थापन भएको छैन । नजिकै, होटल लजहरु छैन जस्ले गर्दा पर्यटकको सेवा सुविधामा समस्या छ, यसलाई व्यवस्थापन गर्दै जाने हो भने, पर्यटकीय विकासको राम्रो सम्भावना रहेको छ ।
धाप बाँध (ड्याम) बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको हो । समितिका अनुसार ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिएको यस ‘कङ्क्रिट फेस्ड रक फिल ड्याम’ भूकम्पीय जोखिम थेग्न सक्षम रहेको आयोजनाले जनाएको छ ।
धाप ड्याम बनाउन ९ अक्टोबर २०१५ मा गोन्झाउ–लामा–रमण जेभीसँग सम्झौता भएको थियो । यस आयोजनाको मुख्य उद्देश्य सुक्खा मौसममा बागमतीमा पानीको बहाव बढाउने र स्थलीय तथा जलीय जैविक विविधताको संरक्षण गर्नु रहेको छ । मुख्य उद्देश्य बागमती नदी प्रवाहमा मद्दत गर्ने भए पनि यस आयोजना बहुउपयोगी हुने देखिएको छ । धाप र नागमती ड्याम निर्माण भएसँगै बन्ने ‘तलाउ’ पर्यटका लागि आकर्षक गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ । धाप ड्यामको केही तल प्रकृति होटल सञ्चालनमा आएको छ । तर आवश्यक पर्ने भौतिक संचना नहुँदा पर्यटकीय चाप बढ्दै गएपछि समस्या आउने देखिन्छ