कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति

काठमाडौं-भारत र चीन यसै वर्षको गर्मी यामबाट कैलाश-मानसरोवर यात्रा पुनः सुरु गर्न सहमत भएका छन्।
भारतको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत् विदेश सचिव विक्रम मिश्रीको चीन भ्रमणका क्रममा दुई देशबीच यो सहमति भएको जनाएको हो ।
भ्रमणका क्रममा दुवै पक्षले जनताबीच आपसी सम्पर्क बढाउन आवश्यक कदम चाल्न पनि सहमति जनाएका छन्। २६ र २७ जनवरीमा मिश्रीको बेइजिङ भ्रमणका क्रममा दुवै देशले आपसी सम्बन्धबारे छलफल गरेका थिए।
सचिव मिश्रीले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य, चीनको केन्द्रीय विदेश आयोगका निर्देशक र चीनका विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले आपसी सम्बन्ध सुधार गर्नु दुवै देशको हितमा रहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ २३:००
प्रतिक्रिया दिनुहोस्