Mero Chitwan
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु

जाजरकोट । त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाए अनुसार बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ ।

बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबच्चामा बढी समस्या देखिन थालेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले जनाएका छन् । चिसो बढ्दै जाँदा दीर्घरोगीहरु थप पीडामा छन् ।

हालसम्म जाजरकोटका १९ जनाले ज्यान गुमाएका छन् । यस्तै रुकुम पश्चिमका ३ जना भूकम्प प्रभावितले पनि चिसोकै कारण ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा भेरी-२ की एक वर्षे बालिकादेखि ८८ वर्ष सम्मका वृद्ध वृद्धा हुन् ।

चिसोकै कारण २५ वर्षीया शर्मिला चदाराले एक महिने सुत्केरी अवस्थामै ज्यान गुमाइन् । भूकम्पले घर भत्काएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिएन ।

गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन् । अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update