Mero Chitwan
साथीको हत्या गरी फरार भएका गोरखाका युवक पक्राउ

गोरखा : गोरखामा धारिलो हतियार प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ वर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय महेश भन्ने शमशेरबाबु पन्तको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।

गत पुस ९ गते अकला मन्दिर नजिकै हिल कटेज नामक होटल संचालन गर्दै आएका पन्त गत पुस ९ गते होटलमा मृत अवस्थामा फेला परेका थिए । हत्या भएको आशंकामा अनुसन्धान गर्दै जाँदा परियारले हत्या गरेको खुल्न आएको छ ।’

घटना लगतै फरार रहेका परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । ‘मंगलवार पक्राउ गरेर बुधवार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडी बढाएका छौ,’ उनले भने ।

उनीहरु प्राय सँगै मापसे गर्ने र लागुऔषध खाने गर्थे । पुस ९ गते राति पनि  मादक पदार्थ र लागू औषध सेवन गर्ने क्रममा उनीहरु बीच विवाद भएको थियो । तर त्यो दिन व्यक्तिगत रिसिवीका कारण विवाद चर्केपछि परियारले होटलको भान्सामा रहेको खुर्पा र चक्कुले पन्तको शरिरको विभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update