Mero Chitwan
'लिटिल बुद्ध' बम्जनको बिलासी शैली : नगदमात्रै ३ करोड बरामद, ५ करोडको गाडी किन्ने तयारीमा थिए

काठमाडौँ- २०६३ सालमा १४ वर्षको उमेरमा घरबाट बेपत्ता भएपछि बाराको रतनपुरीमा तपस्यामा भेटिएपछि रामबहादुर बम्जन देश विदेशमा रातारात चर्चामा आए । उनलाई लिटिल बुद्धको उपमा समेत दिइयो । विदेशी च्यानलले उनकाे वृत्तचित्र बनाए । उनका हजारौं प्रशंसक बने । धेरैका लागि आस्था नै बने । तर उनीभित्रको आपराधिक मानसिकताले अहिले उनको हातमा हतकडी लगाएको छ ।

लामो समय बाराको हलखोरिया जंगलमा बसेका उनी त्यसपछि सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले ४ वर्षदेखि  उनको खोजी गरिरहेका थिए ।

अन्तत : उनी सीआइबीको फन्दामा परेका छन्।  विगतमा प्रहरीलाई छक्याउँदै आएका उनले मंगलबार पनि भाग्ने प्रयासमा बुढानीलकण्ठ ६ स्थित घरबाटै हाम्फालेका थिए । प्रहरीले बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । सीआईबीले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको थियो ।

सीआइबीले उनलाई बुधबार नै सार्वजनिक गरेको हो । उनले ५ करोड पर्ने विलासी गाडी किन्न ३ करोडको अग्रिम भुक्तानीसमेत गरिसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update