Mero Chitwan
दुर्गमको नियति : समयमै उपचार नपाउँदा १२ दिनकी सुत्केरीकाे मृत्यु

 बाजुरा : बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए। उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि सोमबार दिउँसो कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए। त्यसक्रममा सोमबार राति उनको निधन भएको हो । 

सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । शिशुको अवस्था भने सामान्य रहेको डा शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कमी दुवैपट्टिको छातीमा पानी जमेको हुँदा तत्काल आईसीयू र भेन्टिलेरमा राखेर उपचार नहुँदा मृत्यु भएको चिकित्सकको भनाइ छ ।

थप उपचारका लागि नेपालगञ्ज लैजान प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेपनि सोमबार दिनभर हेलिकोप्टर आएन। हेलिकोप्टरका लागि स्थानीय तहले सिफारिस बनाइसकेका थिए । तर हेलिकोप्टर नआउँदै सुत्केरीको ज्यान गएको हो। 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update