Mero Chitwan
धुर्मुस-सुन्तलीको स्टेजमा 'कमब्याक'

कलाकारहरु सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडी लामो समयपछि स्टेज फर्कने भएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा अग्रसर भएका उनीहरुले चार वटा ठाउँमा एकीकृत बस्ती बसाल्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा व्यस्त हुँदा स्टेज प्रस्तुतिलाई निरन्तरता दिन पाएका थिएनन्। 

आर्थिक अभावले रंगशाला अलपत्र परेपछि सरकारलाई जिम्मा लगाएर अलग भएका उनीहरु कलाकारितामा फर्किएका छन् । त्यसको सुरुवात स्टेजबाट भएको छ । गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा उनीहरु करिब ८ वर्षपछि घरेलू स्टेज उक्लिए । यसपछि धादिङ महोत्सवमा सहभागी भएका उनीहरुले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ महोत्सवमा हाँस्य प्रस्तुति दिँदैछन् ।

स्टेजमा यो जोडी टेलिसिरियल ‘मेरी बाँस्सै’को चर्चित पात्र धुर्मुस-सुन्तलीको पोशाक र हाउभाउमै प्रस्तुत भैरहेको छ । उनीहरुलाई महोत्सवमा हेर्न दर्शकहरुको भीड पनि उल्लेख्य देखिन थालेको छ । घरेलु महोत्सवमा माग चर्किन थालेपछि कुञ्जनाले आइतबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै जीवन अन्धकारमा फसेर दिक्क भएको अवस्थामा उज्यालो आउन थालेको उल्लेख गरेकी छन् ।

अब सिताराम र कुञ्जना कलाकारितालाई निरन्तरता दिने योजनामा छन् । यो जोडीले फिल्ममा कमब्याकको तयारी पनि गरिरहेको बुझिएको छ । क्रिकेट रंगशाला निर्माणकै क्रममा उनीहरुले फिल्म ‘सेन्टीभाइरस’को निर्माण गरेका थिए । जसमा दुवैको अभिनय थियो । तर, यो फिल्म सफल हुन सकेन । यसपछि उनीहरु ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिजमा एकसाथ देखिएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update