
चितवन–चितवनको भरतपुरमा गत मंसिर ६ गते भेटिएका दुई शव भारतीयको भएको खुलेको छ ।
भरतपुर महानगरपालिका–१२ मिलनचोकमा कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान घटनाको ४६ दिनपछि खुलेको हो । मारिनेमा भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र बिहार सुगौलीका ३० वर्षीया सन्जुदेवी रहेको प्रहरीले जनाएको छ । भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुको शव हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्टमुनि फालिएको अवस्थामा गत मंसिर ६ गते भेटिएको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

घटनापछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो। हत्यामा बिहारकै ३३ वर्षीय अखिलेश भगत संलग्न रहेको र उनलाई हाल मोतिहारीकै कारागारमा राखिएको प्रहरी प्रवक्ता नवराज अधिकारीले जनाएका छन् ।
घटनालगत्तै विनाजानकारी भागेपछि भगतप्रति शंका लागि भारतीय प्रहरीसँग समन्वय गर्दा उनीविरुद्ध प्रहरी थाना सुगौलीमा अपहरण तथा वेपत्ता मुद्धामा एफआइआर दर्ता भएकोमा पुस १६ गते भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीको समन्वयमा भगतलाई सोधपुछ गर्दा उनले भतिजा नाता पर्ने ऋषभकुमार कुशवाहा र आफ्नी श्रीमती अस्मिता भन्ने सन्जुदेवीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।