Mero Chitwan
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ

काठमाडौं : निषेधित क्षेत्र तोडेको भन्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीसहित ९ जनालाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र द्वन्द्वपीडितलाई न्याय र स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचलगायत माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका केसीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा केसीसहित पुकार बम, पवन थापा, प्रेम चलाउनेलगायत छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारमा वञ्चित गर्न नपाइने माग राख्दै केसीसहितको टोली प्रदर्शनमा उत्रिएको थियो ।

 

डा. केसीद्वारा जारी विज्ञप्ति :

प्रेस विज्ञप्ति

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं ।

तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरुले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । भ्रष्टाचार आकाशिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् । उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियमसंगत रुपमा कर तिर्ने व्यवसायीहरु कठिन परिस्थितिमा छन् ।

यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ ।

अहिले देशमा जति पनि दण्डहीनता र अत्याचार व्याप्त छ, त्यसको जडमा छ द्वन्द्वकालमा भएका जघन्य र मानवताविरुद्धको अपराधका दोषीहरुलाई दण्ड नभएको अवस्था । अब त्यो दण्डहीनता अन्त हुनुपर्छ र पीडितले न्याय पाउने गरी शीघ्र संक्रमणकालीन न्याय प्रक्रिया टुंगिनुपर्छ ।

त्यसैले निम्न मागहरु राखेर हामीले आज माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने निर्णय गरेका छौं ।

प्रदर्शनका मागहरु :

१) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२) नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरियोस् ।

३) चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाइयोस् ।

४) यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् :

गेटामा तत्काल हामीसित सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउयोस् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस् । जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोलियोस् ।

१०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु सुरु गरियोस् ।

विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस्

एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्

५) औषधि उपचार नि:शुल्क गर ।

६ ) सरकारी अस्पतालमा दरबन्दी थप गर ।

डा. गोविन्द केसी

काठमाडौं

२०८० पौष २१

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update