Mero Chitwan
कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?

एजेन्सी–एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो । तर, अहिले अवस्था यस्तो छ कि यो कम्पनी शेयर बजारमा समेत रहन लायक भएन । हालै तोसिबालाई शेयरबजारको सूचीबाटै हटाइएको छ ।

तोसिबाको यो अवस्था एक दशकदेखि नै सुरु भएको थियो । अन्तर्राष्ट्रिय बजारमा घट्दो उत्पादनको माग र कम्पनीभित्रको घोटालाका कारण यसको अवस्था धराशायी बन्यो । कम्पनीमा सुरु भएको घोटालामा ठूला अधिकारी सामेल भएको आरोप लाग्यो । अनुसन्धानबाट थाहा भयो– सात वर्षसम्म कम्पनीको नाफा नक्कली देखाइएको रहेछ । वास्तविक नाफाभन्दा डेढ खर्ब डलरभन्दा बढी नाफा देखाइएको थियो । फेरि २०२० मा तथ्यांकमा गडबडीको मु्ख्य कारण कम्पनीको प्रशासन भएको खुलासा भयो । २०२१ मा तोसिबाले जापानको वाणिज्य मन्त्रालयस“ग मिलेर विदेशी लगानीकर्तालाई हानी पुर्‍याउने प्रयास गरेको पत्ता लाग्यो। यही कारण विदेशी लगानीकर्ताहरु जापानमा लगानी गर्न पछि हट्न थाले र जापानको पूरै शेयर बजारसमेत धराशायी बन्यो । 

त्यसअघि नै तोसिबालाई व्यापारिक झड्का लागेको थियो । २०१६ मा तोसिबाले एक परमाणु विद्युतगृह बनाउने घोषणा गरेको थियो, जसलाई २०१५ मा अमेरिकाको वेष्टिङ हाउसले खरिद गरेको थियो । तर, एक वर्षपछि नै वेस्टिङ हाउस टाट पल्टियो । जसको असर तोसिबालाई पर्‍यो । तोसिबाको बिजुली व्यापार ठप्प हुने स्थितिमा पुग्यो र ६ अर्ब डलरको अन्य व्यापारिक गतिविधिसमेत संकटमा पर्‍यो । कम्पनीले आफ्नो मेमोरी चिप बनाउने कम्पनी बिक्री गर्ने प्रयास गर्‍यो ।तर, विवादका कारण बिक्रीको व्यापारिक सम्झौता महिनौंसम्म अघि बढेन। 

अवस्था यस्तो भयो कि, विश्वभरका कम्पनीहरु प्रविधिमा लगानी गरिरहेका बेला तोसिबा भने आफ्नो सम्पत्ति बेचिरहेको थियो । २०१७ अघि नै शेयरबजारबाट नाम हट्न लागेका बेला ५.७ अर्बको विदेशी लगानी आएपछि जोगिएको थियो । २०२२ मा यसलाई किन्न ८ कम्पनीले प्रस्ताव गरेकोमा जापान इन्भेस्टमेन्ट कर्पले १४ अर्ब डलरमा किन्यो । 

तोसिबालाई किनेको जापान इन्डस्ट्रियल पार्टनर्स फाइनान्सियल सर्भिसेज फर्म ओरेक्सका अलावा चुबु इलेक्ट्रिक पावर र कम्प्युटरचिप निर्माता कम्पनी रोमको पनि लगानीकर्ता हो । यो समूहले सोनीको ल्यापटपमा राखिने क्यामरा निर्माण कम्पनीमा पनि लगानी गरेको छ । २०१४ मा यो कम्पनीले सोनीको भायो ल्यापटपको व्यापारलाई खरिद गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update