
सप्तरी : पछिल्लो तीन दिनदेखि तराई मधेशका जिल्लाहरुमा अत्यधिक चिसो बढेको छ । चिसो हावासँगै दिनहु बढ्दै गएको जाडोले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहटलगायतका जिल्लामा जनजीवन प्रभावित बनेको छ ।
पश्चिमबाट चल्ने सिरेटो हावा र बाक्लो हुस्सुले अध्यधिक जाडो बढेको छ । खास गरेर बिहान र बेलुकी चल्ने शीतलहरले विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसोले ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन पनि सकस भइरहेको छ भने दुई छाक जुटाउन दैनिक मजदुरी गर्ने वर्गलाई पनि कामको समस्या भएको छ ।
चिसोका कारण बिरामी भई सप्तरीका अस्पतालहरुमा उपचार गराउँन आउनेहरुको संख्या बढ्दै गएको छ । अस्पतालमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी देखिएको छ ।
अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिसोले बिरामी भई दैनिक दुई दर्जन बढी उपचार गराउन आउने गरेका छन् । चिसो बढे पनि स्थानीय प्रशासन र पालिकाहरुले अहिलेसम्म बचाउसम्बन्धी कुनै किसिमको कार्यक्रम सुरु गरेका छैनन् ।