Mero Chitwan
वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना

दाङ : वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना भएको छ । बसमा ४० जना सवार रहेकामा २९ जना घाइते भएका छन् जसमा  चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

आज बिहान साढे आठ बजे दाङको अमिलिया(तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस  दुर्घटना भएको हो ।

गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने २५ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । 

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update