Mero Chitwan
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ

काठमाडौँ- बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु  गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए । 

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिए । उनले भने, 'उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो । नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग हो । पहिलो दिनको व्यापार निकै उत्साहजनक छ । अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।' 

उनले आज बिहानदेखि नै दर्शकको चाप चलचित्र भवनमा देखिएको जानकारी दिए ।  सुयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन् । 

प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’ दिनेश राउतले निर्देशन गरेका हुन् ।  जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत् देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए ।  'यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु । मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ', निर्देशक राउतले भने । 

उनले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौँ उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिएका थिए ।दर्शकले दिएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा विश्वस्त रहेको उनले बताए । विकास सुवेदीको लेखन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन् । 

निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update