Mero Chitwan
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा

हेटौंडा: प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन् । शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेर प्रधानमन्त्रीसँग राखिने मागहरूका बारेमा छलफल भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए । 

बैठकबाट निस्कँदै गर्दा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्षसम्म पनि संघीयता कार्यान्वयनमा आउन नसकेको बारे छलफल भएको बताए । उनले भने, संविधान बनेको ८ वर्ष भइसक्यो । संघ सरकारले स्थानीय तह र प्रदेशलाई संविधानमै दिएको अधिकार पनि कार्यान्वयन नगरेको विषयमा हामीले छलफल गरेका छौँ ।

शनिबार बिहान मुख्यमन्त्रीहरूले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । उनीहरूले प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनका लागि जतिसक्दो चाँडो पहल गर्न पनि आग्रह गर्ने मुख्यमन्त्री यादवले बताए । अहिले पनि संघ सरकारको नियत राम्रो नदेखिएको उनको आरोप छ । संघ सरकारको नियत नै राम्रो देखिएन । अहिलेसम्म प्रदेश प्रहरी समायोजनलगायतका कुराहरूमा सरकारले ध्यान दिएको छैन, मुख्यमन्त्री यादवले भने, मैले भोलि प्रधानमन्त्रीज्यूलाई नै सोध्नेछु कति दिनभित्रमा अधिकार प्रत्यायोजित हुन्छ?


 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update