Mero Chitwan
लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा सिलबन्दी

चितवन- लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा तालाबन्दी गरिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले बुधबार गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो ।

सो क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सक्किएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ । 

यस्तै हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो ।

यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सक्किएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको उनले बताए । उनले भने, 'मुख्य सहरी क्षेत्रमानै लापर्वाही हुन्छ भने अन्य स्थानमा के होला ।'  आज छ  एग्रोभेटमा अनुगमन गरिएको थियो ।
 
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विषादीको बिक्री वितरणमा देखिएको कमजोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिँदै आएको भए पनि गम्भीर खालाका त्रुटि भेटिनु गलत भएको बताए । विषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन बढाउन सकिने भएकाले यसलाई निगरानी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।  कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानब स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बताए ।रासस

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update