Mero Chitwan
नेपालीको औसत आयु बढ्यो, धेरै वर्ष बाँच्ने कर्णालीका

काठमाडौँ-नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकका अनुसार एक दशकमा ५ वर्षले बढेको देखिएको हो । 

नेपालीको औसत आयु २०६८ सालमा ६६.६ रहेकोमा २०७८ को जनगणनामा ७१.३ वर्ष पुगेको देखिएको हो । २०५८ मा औसत आयु ६०.४ वर्ष थियो । औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

नेपालमा पुरुषभन्दा महिला करिब साढे ५ वर्ष बढी बाँच्ने प्रतिवेदनले देखाएको छ । ०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो । पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ ।

महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीको मृत्युदर पुरुषको बढी हुनु रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए । उनका अनुसार जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिन्छ । यसको प्रभाव औसत आयुमै देखिएको हो ।

पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । कार्यालयका अनुसार ०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुगेको थियो । ०५८ सालमा ६०.४ वर्ष पुगेको थियो । ०६८ सालमा ६६.६ वर्ष पुगेको औसत आयु पछिल्लो जनगणनाले ७१.३ वर्ष पुगेको देखाएको छ । आँकडाअनुसार पछिल्लो १० वर्षमा मात्र ४.७ वर्षले औसत आयु बढेको छ ।

प्रदेशगत रूपमा हेर्दा कर्णालीमा मानिस सबैभन्दा धेरै वर्ष बाँच्ने गरेको देखिएको छ । यस प्रदेशको औसत आयु ७२.५ वर्ष देखिएको छ भने लुम्बिनी प्रदेशको सबैभन्दा कम ६९.५ वर्ष छ । वाग्मती प्रदेशमा औसत आयु ७२.४ वर्ष, गण्डकीमा ७२.१ वर्ष, मधेशमा ७१.८ वर्ष, कोशीमा ७०.४ वर्ष र सुदूरपश्चिमा ७१.३ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । ‘महिलाको औसत आयु सबैभन्दा धेरै कर्णालीमा ७५.५ वर्ष भने सबैभन्दा कम लुम्बिनीमा ७२.५ वर्ष छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गण्डकीमा महिलाको औसत आयु ७५.४ वर्ष र मधेशमा ७३.२ प्रतिशत छ ।’ कोशीमा ७२.८, सुदूरपश्चिममा ७५.२ र गण्डकीमा ७५.४ वर्ष छ ।

प्रदेशगत रूपमा हेर्दा मधेशमा पुरुषको औसत आयु सबैभन्दा बढी ६९.९ वर्ष छ भने सबैभन्दा कम लुम्बिनीमा ६६.१ वर्ष छ । सूदूरपश्चिममा ६६.९, कोशीमा ६७.५, गण्डकीमा ६८.१, कर्णालीमा ६९.२ र वाग्मतीमा ६९.६ वर्ष पुरुषको औसत आयु छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update