Mero Chitwan
चीनले नेपालीलाई भिसा शुल्क नलिने

चीनले नेपालीलाई भिसा शुल्क नलिने
काठमाडौँः  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ देखि लागू हुने गरी नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिँदै आइरहेको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिसा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

काठमाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने जनाएको हो ।

एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन् । नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एअरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले चीनले गन्तव्यको रुपमा नेपाललाई सकारात्मक रुपमा हेरेको देखिएको र यसरी प्राथमिकता दिइनुले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिने बताए । 

नेपाली पर्यटन व्यवसायीले लामो समयदेखि नेपालीलाई निःशुल्क भिसा पाउनुपर्ने माग गर्दै आएका थिए । यसबाट नेपाली पनि सजिलै चीन जान सक्ने भएकाले दुवैतर्फको आवतजावतले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निर्देशक लामिछानेले बताए। 

सन् २०२४ मा चिनियाँ पर्यटको आगमन बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको मार्च महिनामा १२ हजार ९३ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update