Mero Chitwan
चितवनमा लागुऔषधविरुद्धको ३ महिने अभियान सुरु, ७ वटै स्थानीय तहमा सञ्चालन गरिने

 चितवन । चितवनमा लागुऔषध निस्तेज अभियान सुरु भएको छ । जिल्लामा लागुऔषध प्रयोगकर्ता युवाको संख्या बढेसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने अभियान सुरु भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले अभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिकासमेत सार्वजनिक गरिन् । 

कार्यक्रममा महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागुऔषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन् । उनले अभियानमा महानगर तर्फबाट आवश्यक साथ र सहयोग दिने प्रतिबद्धता पनि जनाइन् । 

विकृति विसंगतिरहित समाज निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्न अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए । 

जिल्लाका ७ वटै स्थानीय सरकारले ३ महिने अभियान सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पछिल्ला वर्षहरुमा लागुऔषध ओसारपसार, कारोबार एवम् सेवनका घटन बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक ७ वटै पालिकालाई लक्ष्ति गरी लागुऔषधविरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। 

चितवन अदृश्य तवरले लागुऔषधको ट्रान्जिट पोईन्ट बनेको देखिएको प्रजिअ थापाको भनाइ छ । अभियानअन्तर्गत सात वटै स्थानिय तहका टोल, वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुने उनले बताए । 

अभियानअन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ गर्ने उनले बताए । । 

प्रजिअ थापाले लागुऔषध सेवनकर्तालाई परिवारमा पुर्नस्थापना समत गर्न यो अभियानले ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । 

 

चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालले विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन अपिल गरे । ‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढैगले परिचालन हुन्छ’ एसपी रिमालले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियान हुनेछ ।

पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागूऔषध सेवनकर्ता रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update