Mero Chitwan
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ? 

 भरतपुर- नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले  जनाएकाे छ । 

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ ।  बिहीबार भरतपुर महानगर  प्रमुख रेनु दाहालको उपस्थितिमा पानी छाडिएको हो । 

योजनाका कार्यालय प्रमुख हरि गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाट एक दशकपछि किसानको मागअनुसार हिउँदमा पनि पानी छाडिएको बताए। दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको उनको भनाइ छ । 

lift2-1714064617.jpg

त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताइन् । पानी नपर्दा सिँचाइको वैकल्पिक उपायका रूपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो । ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेको दाहालले बताइन् । 

नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले २०६९ पछि यसवर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update