Mero Chitwan
'माडीमा चार दिनदेखि बिजुली छैन, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ'

काठमाडौँ-माडी नगरपालिकाको टोलीले शुक्रबार  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । 

 सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गर्दै टोलीले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । सो क्रममा माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी दिइन् । उनले भनिन्, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ ।”

  लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भनिन्, “तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरू भएका थिए । अहिले लथालिङ्ग छ । तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो ।”

प्रमुख महतोका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । जसका कारण सडक धुलाम्मे भएकाले यसलाई तत्काल समाधान गर्न उनले आग्रह गरिन् । 

 माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री दाहालले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए । दाहालले भने, “माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनुपर्‍यो ।” 

जनताको हितलाई सर्वोपरी राखेर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने, “मुख्य कुरा जनताको हित हो । जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन । जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ ।” 

 प्रधानमन्त्री दाहालले यस विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को) सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए । 

  

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update