Mero Chitwan
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो?

काठमाडौं–ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ का कारण चीन, सिंगापुर तथा भारतमा समेत संक्रमण बढिरहेको छ। डेल्टा भेरियन्टकै बेलाजस्तो मृत्युदर र अस्पताल भर्नामा वृद्धि त भएको छैन । तर, यसले शरीरमा पर्ने नयाँ खालको प्रभावले चिकित्सकसमेत चिन्तित छन् । अध्ययनका अनुसार जेएन १ भेरियन्टले घाँटीमा बढी संक्रमण हुन्छ । 

जर्नल पेडियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार कोरोनाका कारण स्वाद र गन्ध हराउनेमात्र नभई आवाजसमेत हराउने सम्भावना रहन्छ । यसलाई भोकल कर्ड प्यारालाइसिस भनिन्छ । 

चीनमा गत नोभेम्बरमा बालबालिकामा निमोनियासहित श्वासप्रश्वासको समस्यामा वृद्धि भएको देखिएको थियो । भारतमा पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुमा आवश्यक मापदण्डसहित तयारी गर्न निर्देशन दिएको छ । कोरोनाको नयाँ भेरियन्ट नेपालको सीमाना जोडिएको बिहारको पटनास्थित इएसआइसी अस्पतालमा समेत प्रमाणित भएको छ । 

हाल यो भेरियन्ट भारतसहितका ४१ मुलुकमा फैलिइसकेको बताइएको छ । भारतमा गत बिहीबार ५ सय ४९ संक्रमित थपिएका थिए । हाल भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार हाराहारीमा पुगेको छ । 

कस्तो हो यो भेरियन्ट ?
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ । यो जेएन १ भेरियन्ट ओमिक्रोनको सबभेरियन्ट बीए.२.८६ बाट बनेको बताइएको छ । सन् २०२२ को सुरुमा यसले विश्वमा आतंक नै सृजना गरेको थियो । तर, सचेत हुनुपर्ने कुरा के छ भने यसले प्रतिरोधी क्षमता मजबुत भएकाहरुलाई समेत संक्रमित पारेको छ । चिसो बढिरहेका स्थानमा यसबाट सावधान हुनुपर्ने चिकित्सकले औैंल्याएका छन् । 

गत अगष्टमा पहिचान भएको यो भेरियन्ट फ्रान्स, अमेरिका, सिंगापुर, क्यानडा, बेलायत तथा स्वीडेनलगायतका ४१ मुलुकमा फैलिएको छ। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update