Mero Chitwan
चितवनका भित्री सडकमा दुर्घटना बढ्दो
बिहीबार ट्रकमा ठोक्किएको म्याजिक ।

चितवन- चितवनमा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा एक सय चार जनाको मृत्यु भएको छ । 

 भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन् ।
 
 पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सुवेदीले जानकारी दिए । जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन् । 

 पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।
 
भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरवाही र ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ । उनले भने, 'अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ ।'

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ । 

चौधकिलोमा ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते

बिहीबार पनि चितवनमा दुर्घटना भएको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ चौध किलोमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना१ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई बिपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा १७ जना घाइते भएका छन् । 

दुर्घटनामा म्याजिकका चालकसहित १७ जना घाइते भएका हुन् । ७ जनाको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । दुर्घटनामा इच्छाकामना गाउँपालिका–४ की ४८ वर्षीय माया राना र ईच्छाकामना–३ की ३३ वर्षीय तारा गुरुङ गम्भीर घाइते भएका छन् ।  ट्रकचालक मकवानपुर वकैया गाउँपालिका–३ बस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update