Mero Chitwan
फ्राइडे रिलिज : ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि प्रदर्शनमा

काठमाडौं– वर्षको अन्तिम दिन आज  फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘डिग्री माइला’ तथा ‘द रेड सुटकेस’ आजदेखि प्रदर्शनमा आएका हुन् ।

रामबाबु गुरुङ निर्देशित 'डिग्री माइला' मा दयाहाङ राई तथा आँचल शर्मा मुख्य भूमिकामा छन् । केही वर्षअगाडि प्रदर्शनमा आएको नाटकमा आधारित फिल्ममा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री ऋचा शर्माको विशेष भूमिका छ । 

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर निर्माण गरेको यो फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । यस्तै सम्पादन निमेष श्रेष्ठ तथा ब्याकग्राउण्ड म्यूजिक रोहित शाक्यको रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

यस्तै अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा चर्चा पाएको ‘द रेड सुटकेस’  पनि आजदेखि प्रदर्शनमा आएको छ ।  फिडेल देवकोटाको निर्देशन रहेको यो फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा तथा सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मलाई युएफओ च्यानलले युरोपका लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ ।

यो फिल्मको सम्पादन श्रीलंकाका समन अलभितिगाले गरेका हुन् भने छायाँकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा छन् । यो फिल्म क्युएफएक्सबाहेक सबै हलमा प्रदर्शनमा आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update