Mero Chitwan
भरतपुर ११ को जलदेवी सामुदायिक वनमा ल्याण्डफिल साइट बनाइने, डीपीआर र इआइए जारी

चितवन  :  भरतपुर महानगरपालिकाले वडा नम्बर ११ मा रहेको जलदेवी सामुदायिक वनको १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईट निर्माण गर्ने भएको छ । 

महानगरले मंगलबार आयोजना गरेको दोस्रो  चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख रेनु दाहालले उक्त जानकारी  दिएकी हुन् । ल्याण्डफिल साईटको अहिले डीपीआर र ईआईएको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् । अहिले अस्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहाेर व्यवस्थापन गरिरहेको उनले बताइन् । 

दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताइन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजको कामले गति लिएको उनको भनाइ छ । 

sunuwai-1712769141.jpg

मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकाउन्टाविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेन्द्र मार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।

प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको बताइन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढेको उनले उल्लेख गरिन् । भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पारिन् । बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको उनले जानकारी दिइन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update