Mero Chitwan
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर

धनुषा- प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुरमा स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ । प्रहरी नियन्त्रणमा लिएकी दीपा मण्डलको मृत्यु भएपछि तनावको अवस्था सिर्जना भएको हो ।

 घटनापश्चात आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । उनको एउटा हातमा गोली लागेको बताइएको छ ।परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले गएराति दुई पक्षबीच विवाद हुँदा घाइते भएका मण्डललाई उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । उनकाअनुसार बिहान स्थानीयले विभिन्न आशंकामा चौकी घेराउ गरेको र आगजनी गर्ने प्रयास गरेका हुन् । अवस्था नियन्त्रणमा लिन प्रहरीले राउण्ड हवाई फायर गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update