Mero Chitwan
चितवनका केरा उत्पादक किसानले अझै पाएनन् बीमाबापतको रकम


चितवन :  जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् ।
 
केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन् । उहाँले भन्नुभयो, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो । अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन ।”
 
हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन् । जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन् । ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उहाँले बताउनुभयो । जसमध्ये अधिकांशको बीमाबापतको रकम सुरुआतमा नै आएको भए पनि अहिलेसम्म बाँकीको रकम नआउँदा किसान मर्कामा परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै चितवनका केरा उत्पादक किसानले बीमा दाबी भुक्तानीमार्फत रु एक करोड ५० लाखदेखि दुई करोडसम्म पाउन बाँकी छ ।”
 
सङ्घका पूर्वअध्यक्ष घनश्याम महतो आर्थिक वर्ष २०७८÷०७९ को बीमाबापतको रकम पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले पटकपटक बीमा कम्पनीमा सम्पर्क गर्दा पनि भुक्तानी पाउन सकेका छैनन् ।” क्षति भएको ३५ दिनभित्र बीमाबापतको रकम दिने भनिएको भए पनि दश महिनादेखि रकम पाउन नसक्दा किसान समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान गयो पैसा निकासा भएको छैन भनेर पठाउँछ ।”
 
शिखर इन्सुरेन्स कम्पनी लि नारायणगढ शाखाका व्यवस्थापक अरुणदेव आचार्य राज्यले दिने अनुदान रकम निकासा नहुँदा किसानले बीमा भुक्तानी पाउन कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले निवेदन दिएको लामो समय भयो । समस्यामा परेका छन् । अब केही निकास निस्किन्छ होला ।” अहिले सरकारले अनुदानबापतको रकम पठाएको आफूले जानकारी पाएको जनाउँदै उहाँले केही समयमा नै भुक्तानीबापतको रकम पाउन सक्ने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update