Mero Chitwan
भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु

चितवन — प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता भरतपुरमा सुरु भएको छ । भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका टिमले विभिन्न नौ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेलहरु हुनेछन् । भलिबलको महिला पुरुष दुवै समूहको खेल भरतपुरको गेष्टहाउस चौरमा हुने छ । महिला फुटबल भरतपुर शारदानगरको बखान स्मृति रंगशालामा हुने छ भने पुरुष फुटबल गौरीटार रंगशाला हेटौंडामा हुने छ ।

पुरुष महिला दुवैको क्रिकेट रामपुरमा निर्माणाधीन रंगशालाको नमुना मैदानमा हुने छ । बक्सिङ, कराँते र तेक्वान्दो भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सम्पन्न हुने छ । ब्याडमिन्टन भरतपुर कभर्डहलमा र एथलेटिक्स भरतपुर शारदानगरको चित्रवन रंगशालमा हुने छ । त्यसै गरी पौडी खेल भरतपुर देवनगरमा रहेको एक रिसोर्टको स्वीमिङ पुलमा सम्पन्न हुँदछ ।

प्रतियोगितामा दुई हजार पाँच सय खेलाडी र पदाधिकारी र निर्णायक थप पाँच सय गरेर कुल तीन हजारको हाराहारीमा सहभागी हुने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए । सहभागि खेलडीले नेपाल सरकारको सहसचिव सरह दैनिक भत्ता पाउने र ३० लाख रुपैयाँ बराबरको बिमा पनि गरेको उनले बताए । प्रतियोगिताको समापन हेटौडामा हुने छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update