Mero Chitwan
भरतपुर महानगरका विद्यालयहरुले वैशाख २ गतेबाट भर्ना अभियान चलाउने

भरतपुर : आगामी शैक्षिक सत्र वैशाख २ गते आइतबारबाट सुरू हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका अनुसार नयाँ शैक्षिक सत्र सुरू भएकै दिनदेखि विद्यार्थी भर्ना अभियान चल्नेछ ।

उनका अनुसार विशेषगरी विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन विशेष भूमिका पालिकाहरुले खेल्नेछन् । ‘भर्नादर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएका छौँ’, प्रमुख सुवेदीले भने, ‘पालिकाहरु भर्नादरलाई प्रभावकारी बनाउन जुटेका छन् ।’

विगतका वर्षहरुमा कोभिड–१९ को असरले केही बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क आएको थियो । तर, यसवर्ष कुनै पनि बालबालिका विद्यालयबाहिर नरहने गरी भर्ना अभियानलाई प्रभावकारी बनाइने सुवेदी बताउँछन् ।

चितवनको विद्यार्थी भर्नादर ९७.५ प्रतिशत रहेको समन्वय इकाइले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ । पुस्तकको तथ्याङ्कलाई स्वीकार्दा पनि चितवनमा अझै केही बालबालिका विद्यालयबाहिर नै छन् ।

चितवनको पालिकास्तरमा हेर्ने हो भने सबैभन्दा बढी विद्यार्थी विद्यालयबाहिर इच्छाकामनामा रहेका छन् । राप्ती नगरपालिका र कालिका नगरपालिकाको पहाडी वडाहरुमा पनि केही बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क छ ।

भरतपुर महानगरमा समेत केही विद्यार्थी विद्यालयबाहिर रहेको तथ्याङ्क गैरसरकारी संस्थाहरुले सार्वजनिक गरेका छन् ।समावेशी शिक्षा परियोजनाले एक वर्षअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ४७० जना बालबालिका विद्यालयबाहिर रहेका थिए । भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले भर्नादरलाई शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

‘महानगरका विद्यालयहरुले वैशाख २ गतेबाटै भर्ना अभियान चलाउने छन्, नियमित कक्षा ९ गतेबाट सञ्चालन हुनेछ’, भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले भने, ‘अभियानमा वडा शिक्षा समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरुको समूहगत टोलीले गाउँ–गाउँका विद्यार्थी खोजी गरी भर्नादरलाई शतप्रतिशत पुर्‍याउने लक्ष्य छ ।’

भरतपुर महानगरले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालबाहिर नरहने गरी भर्ना अभियान चलाइने उनको भनाइ छ । गत वर्ष चितवनमा शिशु कक्षादेखि कक्षा १२ सम्म १ लाख ८४ हजार विद्यार्थीलाई स्कुल पुर्‍याइएको थियो, आगामी शैक्षिक सत्रमा यो संख्या बढ्ने दाबी गरिएको छ । चितवनमा संस्थागत र सामुदायिक गरी ५१८ विद्यालय रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update