Mero Chitwan
भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेला लाग्ने स्थानको निरीक्षण

चितवन :  भरतपुर महानगरपालिकाले रामनवमी पर्व (बिक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यहि चैत्र २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । बिक्रमबाबा मेला २०८० को सञ्चालन व्यवस्थापन तथा व्यवसायीक क्रियाकलाप नियमन सम्बन्धी बिषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो ।
समितिका सयोजक एवं नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको टोलीले मेलाको सन्चालन ब्यबस्थापन तथा ब्यबसायीक क्रियाकलाप नियमन सम्बन्धी बिषयमा अध्ययन गरेको छ ।

मेलालाइ थप ब्यबस्थित गर्ने,हाल मेला स्थलमा देखिएका समस्याहरुलाइ समाधान गर्ने,मेलालाइ सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गर्ने लगायतका विषयहरुमा अनुगमन टोलि केन्द्रित भएको छ । अनुगमन टोलीले सदियौ देखि विभिन्न सस्थाहरुले सञ्चालन गर्दै आएको बिक्रमबाबा मेलालाइ यस बर्ष देखि अन्य संघसंस्थाहरुको सहकार्यमा भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

अनुगमनमा भरतपुर २३ का अध्यक्ष दिपक दवाडी, भरतपुर महानगरका उप निर्देशक जगन्नाथ अर्याल, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिलाराज भुषाल, केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेल लगायतको सहभागिता रहेको थियोे ।

हरेक वर्ष चैते दशैको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पुजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ती र सुख लगायत मनोकांङ्च्छ्या पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ ।
चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवन सहित नवलपुर, नवलपरासी, तनहुँ, लम्जुङ्ग, गोर्खा, मकवानपुर लगाएतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन । मेला बैशाख ११ सम्म सन्चालन हुनेछ ।

यसैबीच नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा ७ सदस्यीय मुलु समारोह समिति गठन गरिएको छ । यस्तै भरतपुर २३ का अध्यक्ष दिपक दवाडीको संयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update