
काठमाडौँ : सरकारले भूकम्प प्रभावितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये सोमबार ९३ करोड रुपियाँ सम्बन्धित जिल्लामा पठाइएको हो ।
प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए ।
अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ ।