मेरो चितवन
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर आदिल अन्सारी, महबुब आलमसहितका क्रिकेटरलाई 'स्पट फिक्सिङ' को आरोपबाट उन्मुक्ति दिएको छ।

उनीहरुमाथि लागेको अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको हो। न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको छ।

सफाइ पाउनेमा अन्सारी, आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी  छन्। उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्व क्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए। त्यसको तीन महिनापछि जनही ३ लाख धरौटीमा छुटेका थिए।

९ पुसदेखि २७ सम्म भएको कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा उनीहरूले 'स्पट फिक्सिङ' गरेको आरोप लागेको थियो।

फिक्सरसँग रकम लिएर 'नो बल' फ्याकेको आरोप आदिलमाथि लागेको हो। क्रिकेटको भाषामा यसलाई 'स्पट फिक्सिङ' भनिन्छ। उनीहरुमाथि खेलमा मिलेमतो तथा अनियमितताको मुद्दा दायर भएको थियो। त्यसअघि आदिल राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०