Mero Chitwan
सम्भव छ मृत्युको भविष्यवाणी गर्न ? 

एजेन्सी-डेनमार्कका वैज्ञानिकहरुले एक यस्तो एआई मोडल बनाउने प्रयास गरेका छन्, जसको उद्देश्य मानिस कति समयसम्म बाँच्न सक्छन् भनेर पत्ता लगाउनु हो । यसका लागि करोडौं मानिसको जानकारी संकलन गर्ने काम अहिले भइरहेको छ । 

तर यो प्रोजेक्टको उद्देश्य प्रविधिको शक्ति र खतराका बारेमा सचेतना जगाउनु रहेको वैज्ञानिकहरुको भनाइ छ। 
लाइफ टु भेक नामक यो प्रोग्राम निर्माणमा संलग्न वैज्ञानिकहरु भन्छन्, ‘यो परियोजनाको कुनै खतरनाक उद्देश्य छैन, बरु, स्वास्थ्य र सामाजिक घटनाको पूर्वानुमान लगाउनु हो ।’

यो अनुसन्धानको एक रिपोर्ट नेचर कम्प्युटेशनल साइन्समा प्रकाशित गरिएको छ  । डेनमार्क टेक्निकल युनिभर्सिटीका प्राध्यापक जुने लेहम्यान भन्छन्, ‘मानव जीवनका बारेमा भविष्यवाणीका लागि यो एक सामान्य संरचना हो ।’ उनी भन्छन्, ‘यदि तपाईंसँग कुनै व्यवस्थित डाटा छ भने कुनै पनि चिजको अनुमान लगाउन सकिन्छ । यसबाट स्वास्थ्यको बारेमा भविष्यवाणी गर्न सकिन्छ । तपाइंं मोटाउनुुहुन्छ या क्यान्सर हुन सक्छजस्ता बारेमा बताउन सकिन्छ।’

यो एल्गोरिदम प्रविधिले च्याटजीपीटीले जस्तै काम गर्न सक्ने बताइन्छ । जन्म, शिक्षा, सामाजिक लाभ, कामको अवधिजस्ता विषयमा विश्लेषण गर्न सक्छ ।

वैज्ञानिक लेहम्यान र उनको समूहले भाषाको प्रशोधन गर्ने एल्गोरिदममार्फत् तथ्यांक विश्लेषणगरी मानिसका बारेमा भविष्यवाणी गर्न सिकाइरहेको छ । उनी भन्छन्, ‘मानिसका जीवन घटनाको सिलसिला हो, मानिस जन्मन्छन्, बिरामी पर्दा डाक्टरकहाँ जान्छन्, स्कुल जान्छन्, नयाँ नयाँ ठाउँ जान्छन्, बिहे गर्छन् आदि ।’

तर यो सफ्टवेयर हालका लागि पूर्णतया निजी हो र सार्वजनिक उपयोगका लािग उपलब्ध छैन । लाइफ टु भेक प्रोग्रामको आधार डेनमार्कका ६० लाख मानिसको डाटा हो, जसलाई राष्ट्रिय तथ्यांक कार्यालयबाट लिइएको हो । अनुसन्धानकर्ताका अनुसार यी तथ्यांकको विश्लेषण गरेर जीवनको अन्तिम क्षणसम्म हुने घटनाको पूर्वानुमान लगाउन सकिन्छ ।

यस आधारमा वैज्ञानिकहरुले मृत्युको पूर्वानुमान लगाउने प्रयास गर्दा ७८ प्रतिशतसम्म नतिजा सही साबित भएको थियो । कोही मानिस आफ्नो शहर छाडेर नयाँ स्थानमा बसाई सर्छ कि सर्दैन भन्ने विषयको अनुमान भने ७३ प्रतिशत मिलेको थियो । 

लेहम्यानका अनुसार मृत्युको भविष्यवाणी अहिलेसम्मकै बढी प्रभावकारी साबित भएको छ । उनी भन्छन्, ‘हामी कम उमेरमै हुने मृत्युको विश्लेषण गर्छौैं, यसका लागि ३५ देखि ६५ वर्षसम्मको उमेर समूहलाई नमुनाका रुपमा लिन्छौं । अनि २००८ देखि २०१६ सम्मको आँकडाका आधारमा अनुमान लगाउने प्रयास गर्छौै कि, आगामी ४ वर्षमा कुनै व्यक्तिको मृत्यु हुन्छ कि हु्ँदैन ?

अनुसन्धानकर्ताका अनुसार ३५ देखि ६५ वर्ष उमेर समूहमा मृत्यु कम हुन्छ । तर यो प्रोगाम अझै मानिसकौ दैनिक जीवनमा प्रयोग गर्न तयार भइसकेको छैन । लेहम्यानका अनुसार के सम्भव छ र के छैन भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ ।  यद्यपि, कैयौं इन्टरनेट सफ्टवेयर छन्, जसले मानिस कति समयसम्म बाँच्छन् भनेर भविष्यवाणी गर्छन्। तर, तिनीहरु विश्वसनीय छैनन्। 

भिडियोमा पनि हेर्नुहोस्


 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update