Mero Chitwan
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै

चितवन : भरतपुर अस्पतालले आफ्नो सेवालाई समयसापेक्ष सुधार गर्ने भएको छ । 

अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले जनाएका हुन् । 

गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएसँगै बिरामीको सुविधाका लागि सेवाको स्तरोन्नति गर्दै लगेको हो । बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालको ओपिडी, सर्जरी, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिकसहितका विभागमा सुधार ल्याएको डा तिवारीको दाबी छ । 

“भरतपुर अस्पताल सुधारका लागि विधिविधान र प्रक्रियाको थालनी नै मेरो मुख्य लक्ष्य हो”, उनले भने, “पहुँचका आधारमा नभई पद्धतिका आधारमा अस्पतालमा पसेर सेवा लिनसक्ने अवस्थाको सिर्जना गराउँदैछु ।” 

बिरामीलाई सहज र चाँडै सेवा प्रदान गर्ने उद्देश्यसहित बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको उनले बताए ।  भरतपुर अस्पतालको सेवा सुधारका लागि अन्तरङ्गतर्फ विभिन्न शय्या, पूर्वाधार, उपकरणसहितका सेवासुविधा थप गरिएको डा तिवारीले जानकारी दिए । 

अस्पतालले ज्येष्ठ नागरिकलाई सहज उपचारका लागि सात श्यया थप गरेको छ । त्यसैगरी सघन उपचार कक्षमा चार शय्या थप गरी ३८ पुर्‍याइएको भन्दै डा तिवारीले पाँच शय्याको एचडियु, तीन शय्याको थालेसेमिया युनिट र बर्थिङ युनिटमा पाँच शय्या थपिएको बताए । 

गत मङ्सिर २५ गते उद्घाटन गरिएको बर्थिङ युनिटबाट हालसम्म ९५ जनालाई प्राकृतिकरुपमा प्रसूति गराइएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले बताए । उनका अनुसार अस्पतालले थप गरेको पाँच शय्याको बर्थिङ युनिटका कारण प्राकृतिकरुपमा बच्चा जन्माउने दरमासमेत वृद्धि भएको छ । पछिल्लो साढे चार महिनाको अवधिमा अस्पतालको सेवासुविधामा धेरै वृद्धि गरिएको भन्दै डा सापकोटाले सकेसम्म बिरामीलाई लाइनमुक्त सेवा दिने तरिकाले काम भइरहेको उनले बताए । 

अस्पतालले इन्डोर डिस्चार्ज काउन्टर सञ्चालन गरेर २४सै घण्टा वार्डबाट डिस्चार्ज गर्ने व्यवस्था गरेको, आकस्मिक कक्ष तथा भर्ना गरेर राखिएका बिरामीको रगत परीक्षणका लागि त्यहीँ रगत निकाल्ने र रिपोर्ट प्रदान गर्न सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता डा सापकोटाले अस्पतालको सेवालाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिएको बताए । 

बीमाका बिरामी र अन्य बिरामीलाई प्रदान गरिने सेवा शुल्कमा एकरुपता प्रदान गरिएको, बिलिङ काउन्टर र ओपिडी टिकट काउन्टरसँगै राखिएको भन्दै बिरामीलाई सहज भएको उनको भनाइ छ । अस्पतालमा प्रतिदिन एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी टिकट काटेर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । 

अस्पतालमा एमआरआइ मेसिन र क्याथल्याब ल्याउन टेन्डर आह्वान भइसकेको भन्दै तिवारीले एमआरआइ मेसिन एक महिनाभित्र जडान हुने जानकारी दिए । “अस्पतालमा क्याथल्याब मेसिन आएपछि मुटुका बिरामीको सल्यक्रियासहित एनजिओग्राम (मुटुमा रगत लैजाने नसामा भएको समस्या पत्ता लगाउने), एनजिओप्लाष्टि (मुटुमा रगत लैजाने नसामा देखिएको समस्या तत्काल समाधान), मेसमेकर इनसर्सन–मुटुको धड्कन मिलाउने), पेरिकार्डियो सेन्टेसिस (मुटुको बाहिरी भागमा पानी जमेमा निकाल्ने विधि), दायाँ मुटु र बायाँ मुटु क्याथेटाराइजेन्जन लगायतका सेवा प्रदान गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म भरतपुर अस्पतालबाट मुटुको शल्यक्रिया भएको छैन, अब क्याथल्याब आएपछि मुटुसम्बन्धी समस्याको उपचारसमेत हामीले गर्न सक्छौँ ।”

भरतपुर सङ्घीय अस्पताल भएकाले निःसन्तानपन भएका दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालनको तयारी भइरहेको प्रवक्ता डा सापकोटाले बताए ।  त्यस्तै अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स), चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मेडिकल कलेजका रुपमा विकास गर्ने काम भइरहेको सापकोटाको भनाइ छ । अस्पतालले हाल विभिन्न चार वटा नर्सिङ कार्यक्रम सञ्चालन गरिहेको छ । उनले स्नातकतर्फका थप कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update