Mero Chitwan
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु

रत्ननगर  : पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासका लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजनाअन्तर्गत टिकौलीस्थित खगेरी खोलाको आडमा सुविधासम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।

संघीय सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा पार्क निर्माण सुरु गरिएको हो । १६ कठ्ठा क्षेत्रफलमा ११ करोड ८४ लाखको लगानीमा सुरु गरिएको सो पार्कमा पानीमाथि रेष्टुरेन्ट आवास  र पानीमा मोटरबोट सञ्चालन गर्ने योजनाका साथ काम सुरु भएको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए ।

खगेरी खोलामा व्यवस्थित तटबन्धन गरी निर्माण सूरु गरिएको पार्क परिसरमा एउटा क्याफेसहित सुविधासम्पन्न ५ वटा पाहुना घर सञ्चालन गरिने छ । पार्कभित्र रेष्टुरेन्ट, होटल र क्याफ सञ्चालनको लागि पूर्वाधार निर्माण सुरु गरिएको उनले बताए । खगेरी खोलाको पानी जमिनमुनीबाट पार्कमा हालेर पर्यटकका लागि मोटरबोट सञ्चालन गरिने छ ।

हरियाली पार्कमा प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई छुट्टै अनुभूति हुने गरी डिपीआर तयार गरिएको छ । डायनामिक कन्सल्टेन्सी प्रा.लि.ले निर्माण कार्यको जिम्मा लिएर धमाधम पार्क निर्माण गरिरहेको छ । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी तीब्र रुपमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

ratnanagar1-1710952702.jpg

यसबाहेक चितवनको पर्यटन विकासका रत्ननगर नगरपालिकाले टिकौलीमै कृष्णसार ल्याउदै छ । पारीपट्टी कृष्णसार वारीपट्टी हरियाली पार्क निर्माण गरेर पर्यटक आर्कषित गर्न खोजिएको नगरप्रमुख सापकोटाले बताए ।

सौराहामा वन्यजन्तु अवलोकन गर्न विदेशी पर्यटक आउने गरेको भन्दै नगरप्रमुख सापकोटाले पर्यटकीय नगरी सौराहाको दायरा फराकिलो बनाएर पर्यटकको बसाई लम्ब्याउन कृष्णसार र हरियाली पार्क सहयोगी सिद्ध हुने बताए । सर्लाहीको भरततालकै हल्को दिने गरी हरियाली पार्क निर्माण सुरु गरिएको हो ।

मेयर सापकाेटाले भरतपुर भ्रमण बर्षकाे ठाउँमा छाति फराकिलाे बनाएर चितवन भ्रमण बर्ष घाेषणा गर्नु पर्नेमा जाेड दिए । भरतपुर भ्रमण वर्षलाई चुनौती दिने गरी पर्यटन पूर्वाधार निर्माण गरी सौराहाको महत्वलाई थप उचाईमा लैजाने उनको नगरको छ । 

पर्यटन विकासकै लागि बाघमारा खेल मैदानलाई प्राकृतिक खेल मैदानका रुपमा विकास गर्ने, पञ्चकन्या सामुदायिक वनमा होमस्टे सञ्चालन र अर्को बर्ष लौरीघोलमा जीपलाइन सञ्चालन गर्ने गरी योजना अगाडि बढेको सापकोटाले बताए । सौराहामा पर्यटन विकासकै लागि साइकल लेन सहितको नमुना सडक निर्माण भइरहेको भन्दै उनले टिकौलीमा कृष्णसार, हरियाली पार्क, टिकौली इकोपार्क, बाघमारा प्राकृतिक खेलमैदान, होमस्टे र लौरीघोलमा जीपलाइन सफारी निर्माण गरी पर्यापर्यटनको विकास गर्ने बताए ।

सौराहाको पर्यटनलाई नगरपालिकाको बस्तीबस्तीमा विकास गर्ने योजना रहेको भन्दै नगरप्रमुख सापकोटाले पर्यापर्यटनमार्फत् स्थानीय समुदायको गरिवी न्यूनीकरण गर्ने दीर्घकालीन योजना रहेको बताए । नगरभित्र रहेका सबै सामुदायिक वनहरुमा पर्यटक भित्र्याएर स्थानीय समुदायलाई हकदार बनाउने नगरपालिकाको थप योजना रहेको नगरप्रमुख सापकोटाको भनाई छ । साैराहाकाे पर्यटनलाई कालिका नगरपालिका हुँदै उपरदाङगढी, र सिराईचुली सम्म, खैरहनीकाे कुमराेज सामुदायिक वन हुँदै राप्तीकाे परेवाकाेट सम्म जाेड्ने याेजना रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update