Mero Chitwan
जापानीले किन हेरेका छैनन् 'ओपेनहाइमर' ?

एजेन्सी–सन् २०२४ को ओस्कारमा सात वटा अवार्ड जित्ने फिल्म ओपेनहाइमरले जुलाई २०२३ मा रिलिज भएयता अहिलेसम्म १.४ अर्ब डलरको व्यापार गरेको छ। तर, जापानी नागरिकले अहिलेसम्म यो फिल्म हेरेका छैनन् । महिनौंको प्रतिक्षापछि यो फिल्म मार्च महिनाको अन्त्यमा रिलिज हुँदैछ ।

ओपेनहाइमर अमेरिकाका लागि एटम बम बनाउने वैज्ञानिक टोलीका प्रमुख रोबर्ट जे ओपेनहाइमरको कथा हो। यो परमाणु बम जापानमा नै खसालिएको थियो, त्यसैले रोबर्ट जे ओपेनहाइमर जापानका त्रासदीपूर्ण विगत सम्झना गराउने प्रतीक हुन्।

जापानमा विरोध प्रदर्शन
चलचित्र ओपेनहाइमर युद्धविरोधी चलचित्र भए पनि यो चलचित्र रिलिज हुँदा जापानमा निकै विरोध भएको थियो । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा दुईवटा एटम बम खसालेको थियो । हिरोशिमा र नागासाकी सहरहरू पूर्ण रूपमा ध्वस्त भएका यी आक्रमणहरूमा दुई लाखभन्दा बढी मानिसहरू मारिएका थिए । 

धेरैले सन् १९४५ मा जापानमा खसालेको एटम बमले दोस्रो विश्वयुद्ध समाप्त भएको बताएका छन् । तर अरूहरू भन्छन्–जापान यी आक्रमणअघि नै लगभग पराजित भइसकेको थियो र आत्मसमर्पणनजिकै थियो, त्यसैले यी आक्रमण आवश्यक थिएन।

फिल्ममा जापानको पक्ष नदेखाइएको र मानवीय पक्षलाई भन्दा युद्धको समयमा आणविक कार्यक्रमलाई बढी महत्व दिइएको फिल्मका समीक्षकहरू बताउँछन् । आज पनि जापानमा हिरोसिमा र नागासाकी आक्रमणलाई युद्ध अपराध मान्ने र त्यसका लागि अमेरिकालाई जिम्मेवार ठहराउने मानिसहरू छन्। फिल्मका आलोचकहरूको एउटा तर्क यो हो कि यसले आणविक हमलाको सही र खुला रूपमा आलोचना गरेको छैन।

ओस्कारमा फिल्मको सफलता पछि, जापानको हिरोसिमा फिल्म फेस्टिभलका अध्यक्ष क्योको हायाले जापान टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘के यो वास्तवमै हिरोसिमाका जनताले हेर्न सक्ने फिल्म हो ?’

त्रासदीको मजाक
अमेरिकामा रिलिज भएपछि फिल्मको व्यापक प्रचार गर्दा जापानमा यसको विरोध सुरु भएको थियो । वास्तवमा, फिल्म बार्बी पनि एकै समयमा रिलिज भएको थियो र दुबै एकअर्काबाट पूर्णतया फरक फिल्म हुन्। तर प्रोडक्सन कम्पनी वार्नर ब्रदर्सले दुवैलाई सँगै प्रचार गरेको थियो, जुन ‘बार्बेनहाइमर’ को रुपमा सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । 

यस्ता धेरै तस्विरहरू सामाजिक सञ्जाल एक्समाभाइरल भए, जसमा बार्बी स्टार मार्गोट रोबी र ओपेनहाइमर अभिनेता सिलियन मर्फीलाई परमाणु बम विस्फोटका तस्बिरहरू सँगै देखाइएको थियो। धेरै जापानीहरूले यसलाई युद्धको डरलाग्दो उपहासको रूपमा पाए र आपत्ति जनाए। पछि, वार्नर ब्रदर्सले पनि मन पराएको बार्बेनहाइमरका धेरै प्रचार पोस्टहरू मेटाइयो। त्यसपछि नो बार्बेनहाइमर ह्यासट्याग पनि जापानमा ट्रेन्ड भयो र वार्नर ब्रदर्सले माफी माग्यो। 

वास्तवमा, परमाणु हतियार जापानमा एक संवेदनशील मुद्दा हो। त्यहाँ, आणविक आक्रमणबाट बचेकाहरूलाई ठूलो सम्मानका साथ हेरिन्छ। ‘बार्बेनहाइमर’ ट्रेन्डिङका कारण धेरै जापानीले ठूलो त्रासदीको खिल्ली उडाएको महसुस गरेको हुनाले फिल्मको विरोध सीधै नभएर प्रचार गर्ने तरिकामा भएको विज्ञहरू बताउँछन् ।

कान्दा विश्वविद्यालयको जापानी अध्ययन विभागका प्राध्यापक जेफ्री हलले अस्ट्रेलियाली समाचार च्यानल एबीसीलाई भने, ‘जापानका हरेक पुस्ताका मानिसहरू हिरोसिमा र नागासाकीलाई भयानक त्रासदीका रूपमा हेर्छन्, जसमा हजारौं नागरिकको मृत्यु भएको थियो। सामाजिक सञ्जालमा जारी गरिएको मेम निकै आपत्तिजनक छ ।”

धेरैले सामाजिक सञ्जालमा एटम बमका सम्बन्धमा जापानको पक्ष देखाउन जरुरी रहेको लेखेका छन् । यो फिल्म मार्च २९ मा जापानमा रिलिज हुँदैछ ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update