Mero Chitwan
लघुकथा : समाजसेवी

राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाई सुनेर मानिसहरु झुम्मिएका थिए । पति र सासु घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीहरुसँग गुहार मागेर उनी घरतिर लागिन् । अब उनको घरको आँगनमा छिमेकीहरु जम्मा भए ।

“ तपाईंहरु कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना ! ” सासुले छिमेकीहरुलाई खाउँला झैं गरेर आँखा तरिन् ।

“ बुहारीलाई यसरी यातना दिन पाइन्छ ? बुहारी पनि छोरी जस्तै होइनन्  ? मान्छे त आमा छोरा नै पढे लेखेको हुनुहुन्छ त ! ” छेउमा उभिएका रामप्रसादले राधाका पक्षमा पैरवी गरे ।

“ यसलाई अब यो घरमा एक दुई तीन बस्नै दिन्न । यो अफिसमा गएर के के गरेर आउँछे, मलाई थाहा छैन ? जागिर गर्न जानु त यसको बहाना मात्रै हो ! ” सासु कुर्लिरहेकी थिइन् । राधाको पति अजय पनि आमाकै पक्षमा ढल्किएको थियो । 

“ मैले कुनै गल्ती गरेकी छैन । पहिले अप्सरा जस्ती बुहारी भने । अहिले मेरा माइती गरिब रे ! स्तर मिलेन रे ! मलाई अंश दिलाई दिनुहोस् ! म यी क्रुर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिन । मलाई यिनीहरुले जिउँदै मार्नेछन् ! ” उनको आँसु थामिएको थिएन ।

 यत्तिकैमा सासुले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन् । पति अजय पनि श्रीमती बिरुद्ध खनियो ! छिमेकीहरुले प्रहरी बोलाए ! प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो !

सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दैथियो, “ म किन जानु ? नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन ? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ ! "                                                
 बागमती ११, कर्मैया, सर्लाही 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update